महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौँ २०८१-०२-०६ डाउनलोड

१३ बैशाख २०८१
काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत समुदायस्तरमा आयुर्वेद सेवा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रम शङ्खरापुर, तारकेश्वर तथा काठमाडौं महानगरपालिकासँग समन्वय गरी महानगरपालिका तथा नगरपालिका स्थित २४० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा मुख्यतया नेपालमा आयुर्वेदको वर्तमान अवस्था, आयुर्वेद शिक्षण प्रविधि, आयुर्वेदका विद्यमान निकायहरु र ती कार्यालयहरुको काम, कर्तव्य र अधिकार समेतको विषयमा चर्चा गरिएको थियो । नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अवधारणा समुदायमा सुरक्षित मातृत्व लगायत अन्य स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनका लागि आएको हो, जो समुदायमा घरदैलोमा गएर सो अभियानमा कार्यरत छन् ।
हालसम्म महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेदको विषयमा जानकारी नभएको र सो सम्बन्धमा जनचेतना फैलाउनका लागि परिचालन नगरिएकाले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य प्रवर्द्धन तथा रोगको उपचार मुख्य २ उद्देश्य बोकेको आयुर्वेद चिकित्सा पद्धतिमा वर्णन गरिएका आहार तथा विहारका सिद्धान्तले हाल प्रकोप रहेको मुटुको रोग, उच्च रक्तचाप, सुगर आदि नसर्ने रोगहरूको व्यवस्थापनमा सहयोग पुग्ने हुनाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत सो को जनचेतना समुदायमा पुर्‍याउनका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

प्राथमिकतामा नपरेको आयुर्वेद विषयको जानकारी समेत प्रदान गर्नको लागि कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ । कार्यक्रमबाट आयुर्वेद सम्बन्धी समुदायमा प्रचार प्रसार भई आयुर्वेद सेवा ग्राहीको सङ्ख्यावृद्धि हुनेछ र समुदायमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

https://newsdainik.com/147856/news-from-nepal.html

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं , काठमाडौं ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.